चितवन। हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय हात्ती पोलो यस वर्ष नहुने भएको छ।
चितवन जिल्लाको विभिन्न स्थानमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय हात्ती पोलो यस वर्ष कोरोना भाइरसको महामारीका कारण रद्द भएको हो।
प्रतियोगिता आयोजना गर्ने तयारीमा रहे पनि कोरोनाको जोखिम नहटेसँगै यो वर्षको प्रतियोगिता रद्द भएको नेपाल हात्ती खेल संघका अध्यक्ष सुमन घिमीरेले बताए।
‘हामीले प्रतियोगिता गर्ने तयारी गरेका थियौँ, कोरोना करहको पहिलो र दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण रुपमा खुलेको छैन’ अध्यक्ष घिमीरेले भने, ‘प्रतियोगिताका लागि विभिन्न मुलुकबाट प्रतिस्पर्धि साथैँ दर्शक पनि आउने गरेको थियो, यस वर्ष त्यो सम्भव नहुने देखिएसँगै प्रतियोगिता रद्द गरिएको हो।’
विगत वर्षहरुमा हात्ती फुटबल, हात्ती सुन्दरी, हात्ती वाक र हात्ती पिकनिक गरी चार विधामा प्रतियोगिता संचालन गरिँदै आएको थियो।
हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि आयोजना गरिने प्रतियोगितामा नेपाल, श्रीलंङ्का, दक्षिण अरेबिया, अस्ट्रेलिया, इङ्ल्याण्ड लगायतका आठ देशको सहभागिता रहँदै आएको अध्यक्ष घिमिरेले बताए।
बर्सेनी पुष १० गतेदेखी १५ गतेसम्म आयोजना हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष केही ढिला सुरु गर्ने योजना भएपनि कोरोनाले परिस्थितीलाई प्रतिकुल बनाए पछि प्रतियोगिता रद्द गर्नु परेको उनको भनाइ छ।
नेपालमा २०३८ सालदेखि चितवनको मेघौलीमा उक्त प्रतियोगिताको सुरुआत गरिएको हो। लामो समयदेखि प्रतियोगिता आयोजना गर्दै आए पनि नेपाल हात्ती खेल संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दुई वर्ष अघि मात्र दर्ता भएको हो।
नेपाल हात्ती खेल संघलाई वार्षिक चार लाखका दरले राखेप बाट बजेट आउने गरेकोमा यस वार्ष प्रतियोगिता नहुने भएसँगै उक्त बजेट संघलाई प्राप्त नहुने भएको छ।
राखेपबाट आउने बजेट प्रतियोगिता संचालनको लागी पर्याप्त नहुने र विभिन्न स्पोन्सरहरुमार्फ प्रतियोगिता आयोजना गरिँदै आएको अध्यक्ष घिमीरेले जानकारी दिए।
प्रतियोगिता रद्द भएसँगै नेपालको पर्यटन क्षेत्र, हात्ती खेल सम्बन्धीत खेलाडी , व्यक्ति र संघलाई पनि आर्थिक हिसाबले क्षति पुग्ने उनले बताए।