इजरायलमा रोजगारी : श्रमिकले अब भिसा शुल्क तिर्नु नपर्ने

काठमाडौं। रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकले अब भिसा शुल्क तिर्नु नपर्ने भएको छ।

इजरायलसँग नेपाली श्रमिकले भिसा शुल्क तिर्नु नपर्ने सम्झौता भएको छ। करिब एक लाख रुपैयाँ मात्र खर्च गरेर श्रमिक इजरायल जान पाउने भएका छन्।

श्रम सम्झौताअनुसार केयरगिभरका रुपमा ५ सय नेपाली पहिलो पटक इजरायल जाने तयारीमा छन्। नेपालीलाई रोजगारीका लागि इजरायल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

पहिलो चरणमा ५ सय श्रमिक पठाउने गरी गत असोज १४ गते नेपाल र इजरायलबीच श्रम सम्झौता भएको थियो। श्रमिक पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि तयार गरिसकेको छ।

श्रम मन्त्रालयका प्रवक्ता थानेश्वर भुसालका अनुसार इजरायल जान केयरगिभरको तीन महिने तालिम लिएको हुनु पर्नेछ। केयरगिभर तालिम सरकारले अनुमति दिएका तालिम केन्द्रबाट लिन सक्ने र यसका लागि ३० हजार रुपैयाँ खर्च लाग्ने सम्झौतामा उल्लेख छ। उक्त शुल्क श्रमिकले नै तिर्नुपर्ने छ।

अन्य सम्बन्धित समाचार:  विप्लब समुहद्धारा आज नेपाल बन्द!

स्वास्थ्य परीक्षणका लागि ४ हजार ३ सय रुपैयाँदेखि ७ हजार ९ सय रुपैयाँ, वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा एक हजार ५ सयदेखि २ हजार ५ सय तथा स्वास्थ्य बिमाका लागि ४ हजारदेखि ८ हजार रुपैयाँ श्रमिकको खर्च हुनेछ।

यसबाहेक तत्कालीन बजार मूल्य अनुसार हवाई भाडा श्रमिकले तिर्नुपर्ने छ। श्रमिक भर्ना प्रक्रिया वैदेशिक रोजगार विभागले नै गर्ने छ।

सम्झौता हुनासाथ सूचना जारी गरेर इजरायल जान चाहने श्रमिकबाट आवेदन माग गरिने मन्त्रालयले जनाएको छ। इजरायलमा काम गर्ने नेपाली श्रमिकले त्यहाँका नागरिकसरह नै तलब पाउने छन्।

इजरायलले तोकेको न्यूनतम ज्याला स्थानीय मुद्राअनुसार करिब नेपाली एक लाख ९४ हजार रुपैयाँ हुन्छ। यसबाहेक अन्य सेवा सुविधा त्यहाँका नागरिकले सरह नै नेपाली श्रमिकले पनि पाउने सम्झौतामा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

इजरायलमा नेपालीले नर्सिङ क्षेत्रमा, व्यक्तिका घरमा होइन वृद्धाश्रम र अस्पतालमा काम गर्नुपर्ने छ।

श्रमिकको उमेर २५ वर्षदेखि ४५ वर्षसम्मको हुनुपर्ने, उचाइ कम्तीमा डेढ मिटर र ४५ किलो तौल, तीन महिने नलिएको भए सीएमए र अनमी अध्ययन गरेकाले आवेदन दिन पाउने, अंग्रेजी भाषा जानेको हुनुपर्ने तथा केयरगिभरको तालिम लिएकाहरुको हकमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने सम्झौतामा उल्लेख छ।

यसअघि व्यक्तिको घरमा केयरगिभरका रूपमा काम गर्न नेपाली नागरिक इजरायल जाने गरेका थिए।