काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ कसैले केही सोध्लान कि भनेर लुकेर बसेको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटनको रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा बुधबार ट्वीट गर्दै थापाले प्रश्नको जवाफ दिन नसकेर नेम्वाङ लुकेर बसेको बताएका हुन्।
यो अवस्थामा अदालतले संविधानको वास्तविक व्याख्या गर्ने उनले आशा व्यक्त गरेका छन्। संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा पनि कुनै प्रतिक्रिया नदिएको प्रति थापाले आक्रोश पोखेका हुन्।
‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु। जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।’
थापाले संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसकेको भन्दै नेम्वाङको आलोचना गरेका हुन्।
प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ(१/४)
— Gagan Thapa (@thapagk) January 6, 2021