एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतको गणतन्त्र दिवसमा अतिथि बन्न अस्वीकार गरेका छन्।
प्रधानमन्त्री जोन्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दै भारतको गणतन्त्र दिवसको विशेष समारोहमा उपस्थित हुन नसक्ने जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कोरोना भाइरसको महामारीका कारण आफूले यस्तो निर्णय लिनु परेकोमा उनले दुःख प्रकट गरेका छन्। बेलायतमा बढ्दो कोरोना संक्रमणका कारण पुनः लकडाउन घोषणा गरिएको छ।
नयाँ संक्रमण बढिरहेकाले आफूले देशमा बस्नुपर्ने आवश्यकता रहेका कारण समारोहमा अनुपस्थित हुने मोदीलाई जानकारी गराएका छन्।
केही दिन अघिसम्म बेलायतमा हुने जी–७ को बैठकपछि उनले भारतको भ्रमण गर्ने सम्भावना थियो। जी–७ को बैठकमा भारतीय प्रधानमन्त्रीलाई बेलायतमा विशेष निमन्त्रणा दिइएको छ।
बेलायतमा अहिले कोरोनाका कारण अवस्था जटिल बनेको छ। कोरोनाको नयाँ संक्रमण भेटिएपछि युरोपलगायत विश्वका अन्य देशले बेलायतबाट आउने हवाईजहाजको आवागमनमा रोक लगाएका छन्।