काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाका सम्पूर्ण विद्यालयहरु माघ १ गतेदेखि सञ्चालन हुने भएका छन्। नगरपालिकाले यसअघि गएको पुस १ गतेदेखि ८, ९ र १० कक्षा आलोपालो चलाउन स्वीकृति दिएको थियो। माथिल्लो तहको कक्षा सञ्चालन गर्न दिएको एक महिनापछि माघ १ गतेदेखि सबै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको हो।
नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई सम्पूर्ण कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। कोरोना भाइरस संक्रमणको कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख प्रजापतिले बताए।
उनका अनुसार अभिभावकहरूको पूर्वस्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्वतयारी तथा कार्ययोजना बनाई बाल विकासदेखि कक्षा १२ सम्मका कक्षाहरू सञ्चालन गर्न गराउन विद्यालयहरूलाई अनुमति दिने निर्णय गरिएको हो।
निर्णयानुसार विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूमा कोरोना भाइरस संक्रमणसम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाले निर्देशन दिन सक्ने छ।