एजेन्सी। अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजिल्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ। यो जितसँगै न्यूजिल्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ।
पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए। ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए।
पहिलो इनिङ्समा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङ्समा १८६ रन मात्र बनाउन सकेको थियो। पहिलो इनिङ्समा ६५९ रन बनाएको न्यूजिल्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गर्दै दुई खेलको यस शृंखलामा न्यूजिन्यान्डले २–० ले विजयी भएको छ।
पहिलो इनिङ्समा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते। दोस्रो इनिङ्समा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए।