तनहुँ। जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सब-इञ्जिनीयर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त घुस रकमसहित सब-इञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो।
जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ। पटकपटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जीयार थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो।
उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो। घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाको लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।