अमेरिकामा ट्रम्प समर्थकद्वारा संसद भवनमा आक्रमण, एक महिलाको मृत्यु

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले अमेरिकी संसदमा हतियारहित आक्रमण गरेका छन्।

प्रतिकार गर्दा प्रहरीको गोलीबाट एक महिलाको मृत्यु भएको छ।

ट्रम्पका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन छिरेका थिए। गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा पराजित भएपनि ट्रम्पले हार स्वीकार गर्न मानेका छैनन्। उनी आफ्ना समर्थकलाई हिंसात्मक प्रदर्शनका लागि उत्तेजित पार्दै आएका छन्।

यसै क्रममा ट्रम्पका समर्थकले संसद भवनभित्रै पसेर तोडफोड गरेका हुन्। ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ। संसद् भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

आक्रमणमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुका साथबाट हतियारसमेत बरामद गरिएको छ।

वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर ट्रम्पका समर्थकले आक्रमण गर्नुका साथै तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा समेत तोडफोड गरेका छन्।

अन्य सम्बन्धित समाचार:  बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

ट्रम्पले आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन्। तीन घण्टासम्म ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिएका थिए। राष्ट्रपतिमा निर्वाचित जो बाइडेन उक्त घट्नाको निन्दा गरेका छन्।