प्रधानमन्त्रीको कार्यशैलीले नेकपा विभाजन भयो: वामदेव गौतम

काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण नेकपा विभाजन भएको बताएका छन्।

बिहीबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेकपामा विवाद प्रधानमन्त्री ओलीकै कारण उत्पन्न भएको बताएका हुन्। “प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो। उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने।

आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको गौतमको भनाई छ। ‘प्रधानमन्त्री ओलीलाई शैली सुधार गर्न मैले धेरै पटक सुझाब दिएको छु। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभो, दुवैपटक मैले धेरै सुझाब दिए। कति ग्रहण गर्नु भो, कति भएन’, उनले भने।

अन्य सम्बन्धित समाचार:  पूर्वलडाकुलाई सम्मान गर्ने सरकारको निर्णयप्रति ब्यङग्यः ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’!

उनले प्रधानमन्त्री ओलीले अहिलेपनि आफूसँग मित्रवत नै व्यवहार गर्ने भन्दै प्रतिनिधिसभा विघटन गर्दा आफूलाई नसोधेको बताए।

यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत उनले बताएका छन्। यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको उनको दाबी छ। “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए। अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोथिएन।” उनले भने।

राष्ट्रिय सभामा उभिएर बोल्दै गर्दा आफू खुसी हुन नसकेको समेत उनले बताए।