सर्लाहीमा मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

काठमाडौं। सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा र एक लेखनदास घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बिहीबार ११ हजार घूस रकमसहित मालपोत कार्यालयका नायब सुब्बा बेदनिधि बराल र लेखनदास रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो।

सेवाग्राहीको सूचनाको आधारमा कार्यालय सुरु भएसँगै अख्तियारको टोलीले लेखनदास महतोलाई खान तलासी गर्दा सो रकम बरामद भएको थियो। महतोसँग सोधपुछको क्रममा र मोबाइल कल रेकर्डको आधारमा नायब सुब्बा बराल पनि पक्राउ परेका हुन्।

सेवाग्राहीसँग घूस रकम लिन नासु बरालले आफूलाई खटाएको महतोले अख्तियार टोली समक्ष बयान गरेका थिए।

लालपुर्जामा नाम सच्याउनका लागि ११ हजार घुस रकम लिएको सेवाग्राहीको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  आज राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने