प्रधानमन्त्रीबाट संविधानको हत्या भयोः नारायणकाजी श्रेष्ठ

काठमाडौं। राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको हत्या गरेको बताएका छन्। शुक्रबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार नरहेको भन्दै ओलीको कदम असंवैधानिक भएको बताएका हुन्।

प्रधानमन्त्रीको अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताले लडेर ल्याएका अधिकार खोसेको उनले बताए। प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक मात्रै होइन, यो अलोकतान्त्रिक हो, यो प्रतिगामी हो र यो स्वेच्छचारी र निरंकुश कदम हो’, उनले भने, ‘यसले नेपालमा नेपाली जनताले लडेर ल्याएको उपलब्धीहरुलाई खोस्ने र अपहरित गर्ने काम गरेको छ।’

प्रधानमन्त्री ओलीले चालेका कदम तत्कालको एउटा प्रतिगामी कदम मात्र नभई समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने आशंका उब्जेको बताए। ‘यो तत्कालको एउटा प्रतिगामी कदम मात्र होइन, यसले समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने ठूलो आशंका पैदा गरेको छ’, उनले भने।

अन्य सम्बन्धित समाचार:  नेप्से १७.३१ प्रतिशतले बढ्याे

उनले राजनीतिक उपलब्धिमाथि कालो बादल मडारिन थालेको भन्दै नेपाली जनताले यसको रक्षा गरेरै छाड्ने दावी गरे।