हामीलाई देश विकास गर्नु छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु देशविकास गर्न व्यस्त भएको बताएका छन्। शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अरुको कुरा गरेर बस्ने फुर्सद नभएको भन्दै आफूहरु देशविकास गर्न व्यस्त भएकाे बताएका हुन्।

उनले संसद् विघटनपछि प्रचण्ड नेपाल समूहले कुरा मात्र गरेर बसेको आरोप लगाउँदै भने, ‘केही भगौडाहरु सडकमा गएर अश्लील गालीगलौज गरेर बसेका छन्। हामीलाई त देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सद छैन।’ उनले केही भगौडाहरु केन्द्रीय कमिटीको बैठकमा नआएर अन्त गएर गालीगलौजमा समय बिताएको भन्दै चर्को आलोचना गरे। उनले भने, ‘बाटामा बसेर भन्छन्, हामी यहाँ छौँ। मुख छाडेर हिँडेका छन्।’

अन्य सम्बन्धित समाचार:  बनेपामा प्रेसर कुकर बम फेला

उनले नेपाली जनतालाई कसरी सुखी बनाउने भन्नेतर्फ आफू केन्द्रित भएको बताए। उनले भने, ‘हाम्रो ध्यान नेपाली जनताले पाएको दुःखप्रति छ। हामी आफ्ना लागि स्वदेशमा पर्याप्त उत्पादन कसरी गर्ने भनेर चिन्तित छौँ। कृषिको व्यवसायीकरण गर्नु छ। डोकामा होइन, ट्याक्टरमा उत्पादन ओसारपसार गर्ने व्यवस्था मिलाउँछौँ।’

उनले सिँचाइ, स्वास्थ्य, विमानस्थल, खानीलगायतका विषय उठान गरेर विकास निर्माणका काम गर्ने आश्वासन दिए।