तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए। उनका अनुसार अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ। त्यस्तै, सङ्ख्या तोकिदिँदा सेवाग्राही फारम नै भर्न नपाएकाले त्यो हटाउने गरी छलफल भइरहेको उनले बताए।
तत्काल इच्छुक सबै सेवाग्राहीको फारम सङ्कलन गर्ने र पालैसँग परीक्षाका लागि बोलाउने गरी छलफल भइरहेको छ। उनले भने, “एक दुई दिनमा नै केही निर्णय गर्न सकिन्छ।” एकै पटक धेरै सेवाग्राहीले फारम भर्दा सर्भरमा समस्या आउँदा विभागको सेवा दुई दिनका लागि अवरुद्ध भएको थियो।
बिहीबारबाट सुचारु गरिए पनि अहिले पनि सेवाग्राहीले सहज रुपमा फाराम भर्न नपाएको गुनासो छ। उनले भने, “१० महिना रोकिएको सेवा खुलाउन लाग्दा धेरै सेवाग्राही हुनु स्वभाविक हो, कसरी व्यवस्थापन गर्ने भनी छलफल भइरहेको छ।” आफूले पटक पटक प्रयास गर्दा पनि फाराम भर्न नसकेपछि धेरै सेवाग्राहीले विभाग र कार्यालयहरुमा गुनासो गरिरहेका छन्।
देशभरका अधिकांश स्थानका सेवाग्राही फाराम भर्न नपाएको गुनासो रहेको उनले बताए। कोभिड–१९ सङ्क्रमणको जोखिलाई ध्यान दिएर विभागले कार्यालय वा विभागमा नगरेर अनलाइन भर्ने व्यवस्था गरेको हो। उनले भने, “सजिलोका लागि यो प्रणाली ल्याइएको हो।”