एजेन्सी। अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन्।
आफ्ना समर्थकलाई हिंसात्मक गवितिविधि गरी चुनावको नतिजा उल्ट्याउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउने तयारी गरिएको हो।
यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर पनि ट्रम्पमाथि महाअभियोगको प्रस्ताव ल्याइएको थियो। त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको थिएन।
बुधबार राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा हतियारसहित प्रवेश गरेका ट्रम्पका समर्थकहरुले तोडफोड र हिंसात्मक गतिविधि गरेका थिए। सो घटनामा हालसम्म पाँच जनाको ज्यान गइसकेको छ।
गत नोभेम्बर ३ मा सम्पन्न चुनावमा पराजित भएका ट्रम्पले बिना प्रमाण धाँधली गरी आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। ५० भन्दा बढी मुद्दा दायर गरे पनि अदालतले प्रमाणको अभावमा उनको विपक्षमा फैसला गरेका छन्।
सरकारी निकायले चुनाव धाँधली रहित र निष्पक्ष रहेको बताए पनि ट्रम्पले धाँधलीको आरोप लगाउँदै हिंसात्मक प्रदर्शनका लागि समर्थकलाई उक्साएको आरोप छ।
बुधबार संसद भवनमा भएको आक्रमणको विश्वभरका नेताले निन्दा गरेका छन्। ट्रम्पकै पार्टी रिपब्लिकनका नेताहरुले समेत उक्त घटनालाई अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण बताएका छन्। सो घटनापछि दुई मन्त्रीसहित ह्वाइट हाउसका केही उच्च अधिकारीले समेत राजीनामा दिएका छन्।
उपराष्ट्रपति माइक पेन्समाथि संविधानको २५औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय बनाई ट्रम्पलाई सत्ताच्यूत गर्न दबाब परेको छ। २५ औँ संशोधनको सेक्सन ४ मा मानसिक वा शारीरिक रुपमा राष्ट्रपति काम गर्न सक्ने अवस्थामा नभए उनलाई सत्ताच्यूत गरी उपराष्ट्रपतिले जिम्मेवारी लिन सक्ने व्यवस्था छ।
अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपतिले दुई पटक महाअभियोगको सामना गर्नु परेको छैन।