काठमाडौं। नेकपाको केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आधिकारिकताको प्रमाणपत्र नबुझाउँदा निर्वाचन आयोग अलमलमा परेको छ।
दुवै समूहले आधार प्रमाण बुझाउन नसक्दा आयोगले नेकपा विवादको निरुपण गर्न सकेको छैन। ओली र प्रचण्ड–नेपाल समूहले पार्टी विभाजनलाई प्रक्रियामा लैजाने गरी निर्वाचन आयोगमा आधार प्रमाण बुझाउन नसक्दा आयोग के गर्ने भन्ने अन्योलमा छ।
दुवै समूहले केन्द्रीय कमिटीको निर्णयसहित आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको निवेदन आयोगमा दर्ता गराएका छन्। तर दुवै समूह दलको आधिकारिकता माग दाबी गर्न आयोगमा गएका छैनन्।
दुवै समूहले पेश गरेका कागजातका आधारमा विवाद निरुपण गर्न नसकिने आयोगले जनाएको छ। आयोगले दुवै समूहलाई आधिकारिकता दाबी गर्ने म्यादसहित पत्रचार गरेको छ।
आधिकारिकता दाबी गरेको खण्डमा आयोग दुवै समूहलाई सहभागी गराइ इजलासमार्फत विवाद निरुपणमा जान सक्छ। यो प्रक्रिया असफल भए बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरको आधारमा विवाद मिलाउने देखिन्छ।