काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन्।
प्रचण्ड–नेपाल समूहले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यवस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका हुन्।
पुस १९ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठक नेपालको अध्यक्षतामा बसेको थियो।
आलोपालो बैठकको अध्यक्षता गर्ने, जसले अध्यक्षता गर्छ, उसैको वरीयतामाथि हुने व्यवस्था कार्यान्वयनमा आएपछि स्थायी कमिटीको अर्को बैठक नबसेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भन्दा नेपालको वरीयता एक नम्बरमा राखिएको छ।
स्थायी कमिटीको बैठकको माइन्युटमा पनि नेपालको नाम एक र प्रचण्डको नाम दोस्रो नम्बरमा लेखिएको छ।
पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले दुवै अध्यक्षको वरीयतासम्बन्धी निर्णय गरेको हो। दुवै अध्यक्षको हैसियत समान हुनेछ। तर आलोपालो अध्यक्षताको प्रणाली लागू गरिएकाले जसको अध्यक्षतामा बैठक बस्छ, त्यतिवेला उसैको वरीयता माथि हुनेछ।
अर्को बैठक नभएसम्म त्यही वरीयताले काम गर्नेछ। अहिले नेपालको वरीयता एक नम्बर भए पनि अर्को बैठकमा भने आलोपालो प्रणालीअनुसार प्रचण्ड वरीयताको पहिलो नम्बरमा हुनेछ।