प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री नगएपछि…

प्रधानमन्त्री

काठमाडौं। संसद् विघटन भएसँगै प्रधानमन्त्री केपी ओलीको व्यस्तता मात्र चुलिएको छैन, उनको भाषणकलामा पनि जनताहरू रमाइरहेका छन्। उनले यसबीच विभिन्न मञ्चमा व्यक्त गरेको भाषण भित्रको व्यंग्यले हास्यरसलाई नै आधार मानेर रोजीरोटी चलाउँदै आएका कलाकारहरू चिन्तित पनि होलान् शायद।

जे जस्तो भए पनि, एक किसिमले सामाजिक सञ्जालमा व्यक्त भइरहेका अनेक टिकाटिप्पणी सरसर्ती हेर्ने हो भने मुलुकमा हास्य कार्यक्रम चलिरहेको छ र त्यसका प्रमुख कलाकार हाम्रा प्रधानमन्त्री हुन् कि भन्ने भान पर्न सक्छ।

शनिबार राष्ट्रिय सभामा प्रस्तुत हुँदै गरेका ओली शुक्रबार धनगढी गएको तपाईंले थाहा नपाउने कुरै भएन।

साता दिन अघिमात्रै ओली पक्षको प्रादेशिक भेला कार्की ब्यांक्वेटमा सुदूरपश्चिम र त्यहाँका मन्त्रीहरूका मुक्तकण्ठले प्रशंसा गरेका हाम्रा प्रधानमन्त्री ज्यूलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भने स्वागत नै गरेनन् भन्ने सुनियाे। आखिर किन त्यसो भएछ त भनेर तपाईँलाई पनि खसखस लाग्नु स्वाभाविक नै हो।

कुरोकाे चुराे चाहिँ मुख्यमन्त्री भट्टले ८ महिना अघि प्रदेशको विषयलाई लिएर प्रधानमन्त्रीलाई भेट्न खोज्दा नभेटेको पीडा र आक्रोश रहेछ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग

बृहत् आमसभालाई सम्बोधन गर्न पुगेका ओलीलाई धनगढी विमानस्थलमा स्वागत गर्न उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रीहरू, प्रदेश प्रमुख लगायत पुगेको भए पनि मुख्यमन्त्री त्रिलोचन भट्ट नगएको भन्ने समाचार फैलँदै गएछ। त्यति भएपछि बिचरा हाम्रा प्रधानमन्त्रीको जोस र जाँगर उसैउसै हराएछ कि के हो, उनको भाषण यस अघिका जस्तो दमदार सुनिएन।

पार्टीमा मनमुटाव आएसँगै पूर्व एमालेहरु नै पूर्व-माओवादीको कित्तामा उभिन गएका बेला मुख्यमन्त्री भट्ट आफ्नो स्वागतमा नआउनु कुन ठूलो कुरो हो र भन्ठाने पनि होलान् बुढाले। उनले जे जस्तो ठाने पनि प्रधानमन्त्रीको स्वागतमा फूलमाला बोकेर मुख्यमन्त्री मुखसम्म देखाउन नआएपछि उनमा “राजनीति संस्कार नभएको’ भन्दै ओली निकटका कार्यकर्ताहरुबाट सामाजिक सञ्जालमा आलोचना भइरहेको देखियाे।

आमसभामै नवनियुक्त वनमन्त्री प्रेम आलेले ‘कस्तो संस्कार नभएको मान्छे’ भनेको पनि तपाईंले सुनेकै होला। यता दाहाल-नेपाल समूह भने ‘भट्टले जे गरे, ठीक गरे’ भन्दै कुर्लिँदैछन्। यसैबीच भट्टका स्वकीय सचिव शिवसिंह ओलीले समन्वय र औपचारिक जानकारी नहुँदा मुख्यमन्त्री भट्ट स्वागतमा नगएको जनाइरहँदा थर मिलेर केही हुँदो रहेनछ भन्ने पनि स्पष्ट हुन्छ है!

अन्य सम्बन्धित समाचार:  उत्तराखण्डको एकदिने मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी

प्रधानमन्त्री ओलीलाई लक्षित गरेर मुख्यमन्त्रीका उनै स्वकीय सचिव ओलीले मुख्यमन्त्रीको आशयलाई यसरी सामाजिक सञ्जालमै लेखिदिएपछि अरु के भ’को हो भनेर मैले भनिरहनु परेन।

प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि भेट्न खोज्दा पछिल्लो ८ महिनासम्म समय नदिएको बताउँदै शिवसिंहले सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन्:

यता ८ महिनादेखि प्रदेशकाे समस्यालाई लिएर प्रधानमन्त्रीले नभेटेकाे भनेर मुख्यमन्त्री भट्टले असन्ताेष व्यक्त गरिरहँदा उनकै स्टाटसमा केबी साउद नाम गरेका एक जनाले प्रतिकृया दिँदै यस्ताे लेखेकाे पनि भेटियाे है‌:

यस्तै खाले तमासाले विकासकाे दुहाई दिएर दुई तिहाई जनताकाे मत बटुलेकाहरुकाे निरीहताले मुलुककाे न भलाे हुन्छ न मुलकवासीकाे।

सीमित नेताहरुकाे हातमा नेपालकाे शासन सत्ता चलिरहँदा सताेसराप मात्र गरिरहने हामी मूर्ख जनताहरु नै उनीहरुलाई त्याे अवस्थामा पुराउने दाेषी हाै‌ँ। दायाँ बायाँकाे देश नहर्ने, आफैं आत्मरतिमा विकास गरेँ भनेर दंग परिरहनेहरुकाे कुबुद्धिले मुलुक दलदलमा भासिँदैछ, चेतना भया…