‘एनसेल अडियो क्लास’ काे थालनी

काठमाडौं। एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेपछि विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु सुन्दै सिक्न सक्ने बताएकाे छ।

यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित भएकाे बताएकाे छ। यो अभियान काेराेनाकाे कहर जस्ता जाेखिम अवस्थालाई मध्य नजर गर्दै र भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य ल्याईएकाे बताईएकाे छ।

पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आईभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेकाे छ।

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध हुने छन् भने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिने एनसेलले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  त्रिवि शिक्षण अस्पतालले माग्यो १२ जना कर्मचारी

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन्। ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन्। इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्छन्।

अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन्। ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवा बाट फाइदा लिन सक्छन्।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ

कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र रु ७ मा फेरी खरिद गर्न सक्छन्। यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन्।

यहि अनपज अभियान अन्तर्गत एनसेलले यो भन्दा अगाडि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम, कामदार र काम दिनेलाई एउटै प्लेटफर्ममा जोड्न एनसेल जबसप जस्ता विभिन्न योजना ल्याएको थियो।