डडेल्धुरामा पसलैपिच्छे दैनिक उपभोग्य सामानमा मूल्य वृद्धि 

भावना पाैडैल, डडेल्धुरा।

डडेल्धुरामा पसलैपिच्छे दैनिक उपभोग्य सामानमा मूल्य वृद्धि हुँदा उपभोक्ता समस्यामा परेकाे उनीहरुकाे गुनासाे रहेकाे छ। जिल्लामा रहेका हरेक पसलहरूमा दैनिक खाद्य तथा खुद्रा व्यापारमा मूल्य वृद्धि भएपछि भान्छा महँगो भएको भन्दै सम्बन्धीत निकायले चासो देखाउन पर्ने उनीहरूकाे माग छ। ‘दैनिक उपभोग्य सामान किनेर खानुपर्ने हुन्छ। आज भन्दा भोलि सामानको मूल्य बढेको हुन्छ। यसरी हामी कसरी किनेर जिविकोपार्जन गर्न सक्छौ?  स्थानीय सन्जु भट्टले गुनासो गरिन।

एकातिर कोरोना कहरले गर्दा आर्थिक अवस्था खस्कदै‌ं जानु र अर्काेतिर पसलहरुकाे मनाेमानी मूल्य वृद्धिले  उपभोक्ता आजीत बन्न थालेका छन्। भट्टले थपिन् “हरेक पसलमा व्यापारीले आफूखुसी मूल्य निर्धारण मात्र नभइ बजारमा कृतिम अभाव देखाएर उपभोक्तासँग महङ्गो शुल्क लिइरहेका छन्।”

बजारमा दैनिक उपभोग्यका सामान दाल, तेल, नुन तथा फलफूलमा समेत अचाक्ली मूल्य बढिरहेको अर्का स्थानीय गीता पुन तामाङले बताइन। उनले जिल्लामा रहेका हरेक पसलमा मूल्य सूचि कायम नहुँदा दैनिक उपभोग्य सामानमा मूल्य वृद्धि भएको भन्दै गुनासो गरिन्।

महङ्गी र आपूर्ति अभावलाई देखाएर व्यापारीले मनोमानी मूल्य लिइरहँदा सराेकारवाला  निकायले उपभोक्तालाई राहत र सहुलियत दिलाउन नसकिरहेको आम उपभोक्ताको गुनासो छ। ढुवानी मूल्य बढ्दा तथा प्रिन्ट रेट एउटा हुने र खरीद मूल्य अर्को हुनाले पनि दैनिक उपभोग्यका सामानमा मूल्य वृद्धि हुने गरेको व्यापारी सरस्वती भट्टले बताइन, “प्रिन्ट रेटमा तेल प्रति पोका १०२ पर्ने भएपनि १०५, ११० रुपैयाँमा हामीले खरिद गर्नुपर्छ”, उनले बताइन्।

गाउँगाउँमा स्थानीय सरकार आइसकेपछि अनुगमनको जिम्मा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई भएपनि केही हुन नसकेकाे स्थानीय  गुनासो छ।

यता नगरपालिकामा आम उपभोक्ताले मूल्य वृद्धि सम्बन्धी कुनै पनि गुनासो नगरेको अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले बताइन। लगत्तै अबको नयाँ आर्थिक बर्षदेखि बजार अनुगमनको पाटोलाई फरक तरिकाले अघि बढाउने उनले जानकारी दिइन। 

 

अन्य सम्बन्धित समाचार:  डडेल्धुरा:क्वारेन्टाईन बनाईएका बिद्यालयमा करोडौको भौतिक क्षती