बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज। बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका अनुसार रोल्पा र दाङका एक–एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

रोल्पा, लिवाङकी ४२ वर्षीया र दाङको बबईकी ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ। रोल्पाकी महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा आइतबार बिहान मृत्यु भएको हो।

त्यस्तै दाङकी महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। उनको पनि आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु भएका संक्रमितको संख्या ८२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोभिड-१९ को खोप ल्याउन थप दुई कम्पनीकाे आवेदन