ट्रक दुर्घटना हुँदा डडेल्धुरामा एक जनाको मृत्यु, एक घाइते

भावना पौडेल, डडेल्धुरा। ट्रक दुर्घटना हुँदा डडेल्धुरामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा ट्रक दुर्घटना हुँदा ट्रक चालक कैलाली गेटाका ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको हो।

बाजुराको बडीमालिका नगरपालिका–५ का १८ वर्षीय मदन साउँद गम्भीर घाइते भएका छन्। पन्तको घटनास्थलमै मृत्यु भएको र साउँदको अवस्था मध्यम रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख ३८१७ नम्बरको ट्रक आइतबार बिहान ३ बजे दुर्घटनामा परेको उनले बताए। मृतकको शव डडेल्धुरा अस्पतालमा ल्याइएको छ भने घाइतेको पनि डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  हुस्सुका कारण ३ दिनमा आन्तरिकतर्फ १ सय २ उडान रद्द

रातिको समयमा चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।