संसद् विघटनविरुद्ध ललितपुरमा बयलगाडा प्रदर्शन

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले बयलगाडा प्रदर्शन गरेका छन्। संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले आइतबार ललितपुरको पाटन क्याम्पस अगाडि विरोधस्वरूप बयलगाडा प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनतामाथि घात गरेको उनीहरूको आरोप छ। विद्यार्थीहरूले रिक्सामा बयलगाडाको जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए। बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो।

यस्तै दिउँसो २ बजे माइतीघर मण्डला र भक्तपुरको सानोठिमीमा अपरान्ह ४ बजे बयलगाडाको स्वरूप बनाएर प्रदर्शन गर्ने कार्यक्रम छ।

 

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित