सरकारलाई काम गर्न नदिएपछि संसद् विघटनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। आइतबार राष्ट्रियसभा बैठकलाई संम्बोधन गर्दै उनले जनताले माया गरेर बहुमत दिए पनि जालझेल र षडयन्त्र गरेर कामै गर्न नदिएको गुनासो गरेका हुन्।

ओलीले अस्वस्थ, अनुचित, अलोकतान्त्रिक लेनदेन, जालझेल, गठजोड, तिगडम र षड्यतन्त्रबाट ६/६ महिनामा प्रधानमन्त्री फेर्ने अवस्थातिर देशलाई धकेल्न खोजिएकाले संसद विघटन जस्तो अप्रिय कदम चालिएको बताए। केही व्यक्तिका व्यक्तिगत आंकाक्षाहरू, महत्वकांक्षाहरू र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोज्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेल भएको उनको भनाइ छ।

यस्तै अस्वस्थ, अनुचित र अलोकतान्त्रिक जालझेलबाट देशलाई मुक्त गर्न प्रतिधिनिसभा विघटन गरिएको प्रस्ट पारे। जनताले असाधारण विश्वासका साथ सुम्पिएका अभिभारालाई संविधानसम्मत, लोकतान्त्रिकक प्राणालीका मूल्य मान्यता र अभ्यासको आधारमा सरकार अगाडि बढिरहँदा सरकारलाई काम गर्न नदिने जहिले पनि झमेला मात्रै सिर्जना गर्ने काम भएको बताए। ‘नेपाली जनताले असाधारण विश्वासका साथ स्नेहपूर्वक हामीलाई जिम्मेवारी दिएका थिए। त्यस अभिभारालाई हामीले कर्तव्यनिष्ठका साथ काम गरेका थियौँ, उनले भने, ‘सरकारलाई काम गर्न दिने वातावरण दिने वातावरण भएन। सरकारको कामलाई व्यवधान गरियो। जहिले झमेला मात्रै खडा गरियो। केही व्यक्तिका व्यक्तिगतका आकांक्षा महत्वकांक्षाले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोजियो। देशलाई अगाडि बढ्न नदिएर बहुमतलाई खण्डित गर्ने खेलमा लागियो।’

अन्य सम्बन्धित समाचार:  शुक्रबारको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने प्रचण्ड–नेपाल समूहको दावी

ओलीले आफ्नो सरकारविरुद्ध पुष्पकमल दाहालको खुमलटारस्थित घरमा २८० वटा बैठक बसेको खुलासा गरे। ‘वैशाख १३ देखि पुस ४ गतेसम्मका बैठक हेर्दा पार्टीलाई कमजोर पार्न गुटका बैठक २८० वटा बसेका रहेछन्। एउटै नेताको घरमा ३५ वटा बैठक अन्यत्र बसेका रहेछन्, दाहालको नाम नलिइ उनले भने, दुईतीनजना नेता बसेको बैठकको हिसाब छैन। देशलाई अस्थिरतातर्फ लैजान खोजिएको थियो। त्यसैले प्रतिनिधिसभा भंग गरेर ताजा जनादेशमा गएका हौं।’