एजेन्सी। इन्डोनेसियाली उड्डयन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्याक बक्स’को स्थान पत्ता लगाएको बताएका छन्।
उनीहरूले ‘ककपिट’ आवाज र उडानको ‘डाटा रेकर्डर’लाई सङ्केत गर्दै ‘ब्ल्याक बक्स’का माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नको लागि महत्वपूर्ण जानकारी मिल्ने बताएका छन्।
“हामीले दुबै ‘ब्ल्याक बक्स’ रहेको स्थान पत्ता लगाउन सफल भएका छौँ,” इन्डोनेसियाको यातायात सुरक्षा निकायका प्रमुख सोरजान्टो तज्जान्टोले भने, “गोताखोरहरूले छिट्टै ती यन्त्रलाई खोज्न थाल्नेछन् र छिट्टै ब्ल्याक बक्सलाई पानीबाट बाहिर निकालिनेछ।”
यसअघि इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका बताइएको छ।
जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए।
जकार्ताको सोकार्नो–हाता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।