बडामहाराजाधिराज पृथ्वीनारायणको इमेल

-पूर्णिका शाह

आगे प्यारा सन्ततिहरु

ससाना रुमालहरू जोडेर

एक थान नेपाल बनाएको थिएँ

त्यसलाई कस्तो छ अहिले?

सन्चो छैन सुनिरहेछु

देशलाई कस्तो छ अहिले?

यता आएका आत्माहरू

खासखुस गर्दै थिए

कालगतिले मर्न पनि पाइएन

मर्ने बेलामा

आमाको मुख हेर्न पनि पाइएन

स्वास्नीको दुःख हेर्न पनि पाइएन।

कस्तो अनर्थ सुनिरहेछु

सुनेपछि मनमनै गुनिरहेछु

म एउटा घर

बनाउँदा बनाउँदै मरे

तिमीहरू त्यो घर

भत्काउँदा भत्काउँदै मरिरहेछौ।

फेरि एउटा दिव्योपदेश सुन

नेपाल छ, र तिमीले

बेवारिस खाते हुनु परेन

एक मुठी माटोको लागी

कहिल्यै रुनु परेन

आफ्नो माटोलाई माया गर।

ठूला दुखले आर्जेको

एउटा सानो घर थियो

त्यो घरमा तिमिहरुले

अन्य सम्बन्धित समाचार:  पत्रकार तथा साहित्यकार दत्तको ‘राग–तान’को लोकार्पण

आगो झोस्यौ कि क्या हो?

अन्तत आफ्नै अनुहारमा

अगुल्टो ठोस्यौ कि क्या हो?

आमाहरू सन्तान सृजना गर्छन्

तर म

आमा सृजना गर्ने सन्तान

तिमी नै भन त

ती आमा बिरामी हुँदा

मलाई कति चोट परेको होला!

मेरा प्यारा नेपालीहरू!

तिमीले दिएको तर्पण पाइरहेछु

तिम्रो गुणगान गाइरहेछु

तर मलाईजस्तै देशलाई पनि

तर्पण र अर्पण गर्ने कर्म

कदापि नगर्नू है!

देश युद्धबन्दी भएको

अशुभ सपना देखिरहेछु,

प्यारा देशवासीलाई

एउटा अर्जी लेखिरहेछु

बन्द गर आत्मघाती लडाइँ

र, बहाली गर हर्षबढाइँ।