प्रचण्ड-नेपाल समूहले आज तीन प्रदेशमा कार्यकर्ता भेला गर्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले तीनवटा प्रदेशमा कार्यकर्ता भेला गर्दैछ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले सोमबार सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नम्बर १ मा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

प्रदेशहरूमा बृहत कार्यक्रम गर्ने संसद् विघटन असंवैधानिक कदम भएको, यस विरुद्ध कसरी अघि बढ्ने लगायतका विषयमा कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले जानकारी दिइन्।

साथै प्रचण्ड–नेपाल समूहको जन कलाकार संघले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछ। प्रचण्ड–नेपाल पक्षले आइतबार प्रतिनिधिसभा विघटन गैर संवैधानिक भन्दै सडकमा संविधान वाचन तथा ब्याख्या गरेको थियो।

अन्य सम्बन्धित समाचार:  शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति देउवाले दिए बधाई