राम्रो होस् वा नराम्रो, यो मेरो नीजि जीवन हो: नायिका नुसरत जहां

काठमाडौं। बंगाली नायिका तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहांले पहिलो पटक आफ्नो विवाह र नयाँ सम्बन्ध बारे कुरा गरेकी छिन्। नुसरतले सन् २०१९ जून १९ मा व्यापारी निखिलसँग विवाह गरेकी थिइन्। भारतीय मिडियाले उनी आफ्ना सह–कर्मी यश दासगुप्तालाई डेट गरिरहेको अफवाह फैलिएको छ।

यसका साथै नुसरतको निखिल जैनसँगको सम्बन्ध निकै खराब अवस्थाबाट गुज्रिरहेको पनि बताइँदै छ। साथै, उनीहरुले चाँडै सम्बन्धविच्छेद गरेर नुसरतले यश दासगुप्तालाई विवाह गर्ने कुरा पनि चर्चाको विषय बनेको छ। उनीहरु हालै छुट्टी मनाउन सँगै गएको पनि बताइएको छ।

नुसरतले कलकत्ता टाइम्ससँगको कुराकानीमा यसबारे कुरा गरेकी छिन्। उनी भन्छिन्, ‘मेरो नीजि जीवनका सम्बन्धहरु सार्वजनिक हुनुपर्छ भन्ने मान्यता म राख्दिनँ। मानिसहरुले मलाई सधैं ट्रायलमा राखे। तर यसपाली म केही प्रतिक्रिया दिन्नँ। मानिसहरुले मलाई मेरो अभिनयका लागि मात्रै जज गर्न सक्छन्, त्योभन्दा बाहेक अरु कुनै कुरामा गर्न पाउँदैनन्। मेरो जीवन, राम्रो होस् वा नराम्रो, यो मेरो नीजि जीवन हो र यसबारे म कसैलाई पनि जानकारी दिन्नँ।’

अन्य सम्बन्धित समाचार:  अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिए

यसका साथै, यशले पनि यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘म प्रत्येक वर्ष भ्रमणका लागि जान्छु र यसपटक म राजस्थान गएँ। त्यहाँ जो पनि जान सक्छ नि, होइन त? नुसरतको विवाहको कुरा छ, मलाई उनको नीजि जीवनबारे केही थाहा छैन। यसबारे सम्बन्धित व्यक्तिलाई नै सोध्नुहोस्।’

यसका साथै निखिलको पछिल्लो इन्स्टाग्राम पोस्टले धेरै कुरा बताउँछ। यसमा उनले एउटा सेल्फी पोस्ट गर्दै लेखेका छन्, ‘फिल्टर, फिलर र फलोअर्सको पछाडि कहिले पनि नलाग्नुहोेस्। कर्म, अन्तरआत्मा र आशासहित उदाउनुहोस्।’

स्मरण रहोस्, निखिल जैनसँग विवाह पछि नुसरत जहांले सिन्दुर लगाएको र हिन्दु रितिरिवाजलाई अनुसरण गरेको भन्दै निकै ट्रोल भएकी थिइन्। उनी थुप्रै मानिसहरुको निशानामा पनि आएकी थिइन्।