ढुक्क हुनुस्, कोरोना विरुद्धको खोप आउँछ: स्वास्थ्यमन्त्री

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो नेपालमा ल्याउने तयारी भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप छिटो नेपाल भित्र्याउन सरकारीस्तर सँगसँगै व्यक्तिगत रूपमा समेत आफूले प्रयास गरिरहेको बताएका हुन्।

‘मैले व्यक्तिगत सम्बन्ध पनि प्रयोग गरिरहेको छु, मेरो व्यक्तिगत सम्बन्ध भएका राष्ट्रका व्यक्तिसँग भरपुर प्रयास गर्दै खोप छिटोभन्दा छिटो ल्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘खोप अभियान पारदर्शी ढंगले सञ्चालन हुनेछ। विकृतिको आशंका विभिन्न सञ्चारमाध्यमबाट भइरहेको छ, त्यसलाई हामी झूटो सावित गर्छौं।’

खोप कार्यक्रमलाई सरकारले अभियान र मिसनको रूपमा लिएको मन्त्री त्रिपाठीले बताए। ‘विश्वले नै खोपलाई प्राथमिकता दिइरहेको छ, हामीले पनि प्राथमिकता दिएका छौं,’ मन्त्री त्रिपाठीले भने।

अन्य सम्बन्धित समाचार:  भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको खोप

कोरोना विरुद्धको खोप जोखिममा रहेका र अग्रपंक्तिमा खटिएका जनशक्ति तथा ५५ वर्ष उमेर पुगेका नागरिकलाई शुरूमा दिइने उनले बताए। ‘खोप अभियान सञ्चालनका लागि कानूनी जटिलता समाप्त भइसकेका छन्। आर्थिक रूपले अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ,’ उनले भने, ‘ढुक्क हुनुस् खोप आउँछ, निश्चिन्त हुनुस्, खोप आउँछ। यसलाई निःशुल्क रूपमा नै लगाउने प्रतिवद्धता छ।’