हुस्सुका कारण तराईका अधिकांश जिल्लाको उडान प्रभावित

काठमाडौं। मौसम खराबीका कारण आन्तरिक उडान प्रभावित भएको छ। हुस्सु नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने सोमबारका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलमा भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि मध्यान्ह १२ बजेअघि तय भएका १९ वटा उडान रद्द भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरलाइन्सका १० वटा, यती एयरलाइन्सका ६ वटा र सौर्यका ३ वटा उडान आज रद्द भएका छन्। बुद्ध एयरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका उडान स्थगित गरेको छ । यस्तै सौर्य एयरले भद्रपुरको उडान स्थगित गरेको छ।

भिजिविलिटी नहुँदा अरू २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको उनले बताए। हुस्सु खुलेर भिजिविलिटी पर्याप्त भएमा साँझसम्म उडान हुन सक्ने अपेक्षा गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने