कृषिमा जमेकाे एउटा शिक्षक

भावना पाैडेल, डडेल्धुरा।

‘२०६५ सालमा भारत गएँ, तर एक हप्तामै फर्केर आएँ, आफ्नै ठाउँमा केही गरौँ भनी कृषिमा लागेँ।”  याे भनाइले उनीप्रतिकाे  कृषिको मोहलाई दर्शाउँछ।

डडेल्धुराकाे अजयमेरु गाउँपालिकाका –४ भट्याडीमा जन्मे हुर्केका  लोकेन्द्रडी पेशाले शिक्षक हुन्। एकदिन सुरै सुरमा भारत जाने इच्छाले आफूखुसी त्यता लागे। तर उनलाई  त्यहाँको रहनसहन अनि मानिसहरूको व्यवहारले बस्न मन लागेन। उनी घर फर्किए।

उनको पुर्ख्यौली पेशा नै कृषि भएकोले पनि उनलाई सोही कृषि पेशा अङ्गाल्न मन लागेको सुनाए। अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गरौँ भन्ने सोचका साथ कृषि पेशा नै अङ्गालेको उनले बताए। अहिले उनी कृषि पेशासँगै करार शिक्षकको रुपमा प्रावि तहसम्म अध्यापन गराउँदै आएका छन्।

शिक्षकको भूमिका एकातिर त आफ्नो व्यवसाय अर्कातिर। बिहानदेखि साँझसम्मको  कामले उनको  व्यस्तता चुलिँदै गयो। बिहान ९ बजे घरबाट १ घण्टाको दूरीमा रहेको विद्यालयमा  पढाउन निस्कन्छन्।

विद्यालयबाट फर्केसँगै कृषि काममा लाग्छन्। उनले आफ्नो बारीमा सिजन अनुसारका तरकारी खेती आलु, टमाटर, रायो, खोर्सानी, प्याज, मुला, धनियाँ, काउली, मटर लगाएका छन्।

तरकारीसँगै ५० वटा बाख्रा पनि पालेका छन्। सिजनमा राम्रै आम्दानी हुने गरेको सुनाए। कहिलेकाँही हुने मौसमी प्रतिकुलताले केही समस्या दिने गरेको भएपनि उनले निरन्तर कामलाई अघि बढाएको सुनाए।

विदेशी भूमिमा  बगाएको पसिनामा उनी त्यति सन्तुष्‍ट छैनन्। उनले यही कृषि पेशाबाट मासिक ३०, ४० हजार कमाउने गरेको सुनाए। “बाख्रा पालन व्यवसायसँगै जोडेर हेर्ने हो भने वार्षिक ३ लाखसम्म आम्दानी गर्ने गरेको छु।”

व्यवसायमा परिवारको साथले उनी थप हौसिएका छन्। परिवार चलाउन समस्या छैन उनलाई। उत्पादन भएको तरकारी बेच्न कहिँकतै चहार्नु परेको छैन।

‘पहिले गाउँसम्म मोटर पुग्थेँन। जसले गर्दा तरकारी बेच्न समस्या हुन्थ्यो। तर अहिले भने गाउँघरमै स्थानीय सरकार आउँदा हामीलाई धेरै सहज भएको छ”, उनले भने। अब उनी पुर्ख्यौली पेशा कृषिलाई नै आत्मसाथ गरी जाने साेचाइमा रहेका छन्।

 

अन्य सम्बन्धित समाचार:  डडेल्धुराका ५ जना व्यापारीविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता