निर्वाचन तयारी रोक्न प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ। प्रचण्ड-नेपाल समूहले सोमबार आयोगमा निवेदन पेस गर्दै संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन गतिविधि अगाडि नबढाउन आग्रह गरेको हो।

‘सर्वोच्च अदालतको फैसला अगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु निरर्थक, प्रयोजनहीन हुन जान्छ।’समूहका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले दर्ता गराएको निवेदनमा उल्लेख छ।

अदालतको निर्णय आउनुअघि नै निर्वाचन आयोग जस्तो निष्पक्षता, तटस्थता देखाउनुपर्ने संवैधानिक निकायले मुद्दाको विषयलाई प्रभाव पार्ने गरी कुनै काम कारबाही अगाडि बढाउनु आफैंमा न्यायसंगत नहुने निवेदनमा उल्लेख छ। निवेदनमा लेखिएको छ, ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी रिट निवेदनको टुंगो नलागेसम्म निर्वाचनसम्बन्धी कुनै पनि कामकारबाही अगाडि नबढाउन गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छौं।’

अन्य सम्बन्धित समाचार:  शान्तिका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ: पहाडी