देशभरको मौसम बद्ली, हुस्सु–कुहिरो र वर्षाको सम्भावना

काठमाडौं। देशभरको मौसममा मंगलबार पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन थालेको मौसमविद्ले बताएका छन्।

मंगलबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने महाशाखाले जनाएको छ। तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताइन्। बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैबीच काठमाडौं उपत्यकामा सोमबार भन्दा मंगलबार केही न्यानो महशुस भएको छ। हिजो न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम बिहान पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा आइपुग्यो मेलम्चीको पानी, पानी हेर्नेहरूको भिड (फोटो फिचर)

काठमाडौं उपत्यकाको अधिकतम तापक्रम मंगलबार २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। राति प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।