पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते हुने

काठमाडौं। भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुने भएको छ। म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ। यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए। हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  म्याक्सवेल र रहाणेले पाए ईएसपीएन अवार्ड

नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ। जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ।

यसैगरी १० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ। दश किमी महिला/पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पीएम कप: पुलिसद्वारा सुदूरपश्चिम विशाल ९ विकेटले पराजित

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन्। यसैगरी छात्र/छात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन्। म्याराथनका लागि रु ५० लाख ६० हजार खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत सरकारी तथा निजी सङ्घ संस्थाबाट सहयोग सङ्कलन गरिने आयोजकले जनाएको छ।