केपी ओलीले संघीयतालाई जोखिममा पारे: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर संघीयतालाई जोखिममा पारेको बताएका छन्। मंगलबार वीरगञ्जमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यादवले पार्टीको आन्तरिक झगडा मिलाउन नसक्दा प्रतिनिधि सभा विघटन गरेर मधेश आन्दोलन, जनआन्दोलन लगायतबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न प्रधानमन्त्री ओली लागिपरेको आरोप लगाएका हुन्।

हतास मानसिकताले संसद् विघटन गरेर प्रधानमन्त्री ओली तानाशाहीको बाटोतर्फ अग्रसर रहेको भन्दै अध्यक्ष यादवले ओलीले चालेको कदम अलोकतान्त्रिक तथा संविधान विपरित रहेको बताए। विगतमा आफैले गरेका सहमतिहरू कार्यन्वयन नगर्दा आफूहरू संविधानबाट बाहिरिएको भन्दै उनले प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र संवैधानिक निकायहरूलाई कब्जा गरेर निरङ्कुशता लाद्न खोजेको बताए।

संविधानले नदिइएको अधिकार प्रयोग गरेर प्रतिगमनकारी नीतितर्फ प्रधानमन्त्री ओली उन्मुख भएको हुँदा यसको प्रतिकारमा सबै जनता ऐक्यबद्धता भएर उत्रिनु पर्नेमा उनको जोड छ। संसद् विघटन पूर्ण रुपमा असंवैधानिक र गैरसंवैधानिक कदम भएकाले सर्वोच्चले जनताको पक्षमा निर्णय गर्ने उनको विश्वास छ।

अन्य सम्बन्धित समाचार:  काँग्रेस सभापति देउवासँग र अमेरिकी राजदुत बेरीबीच भेटवार्ता