निर्वाचनको घोषणा संवैधानिक: विमलेन्द्र निधि

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका हुन्।

संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुने उनको भनाई छ। अब हुने निर्वाचन विगतमा राजाद्वारा गराइएको निर्वाचन प्रणालीजस्तो नहुने उल्लेख गर्दै उनले निर्वाचनमा भाग लिनु संवैधानिक रहेको बताए। ‘प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणाका सन्दर्भमा कांग्रेसमा कुनै विवाद छैन। निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांग्रेसलाई शिरोधार्य हुनेछ।’ उनले भने।

उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने भन्र्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको अभिव्यक्तिमा रोक लगाउनुपर्छ: अधिवक्ता न्यौपाने

एक प्रश्नका जवाफमा उनले कांग्रेसको निर्वाचनको मुद्दा सङ्घीयता, गणतन्त्रको रक्षा र जनताको हितमा सफल कार्यान्वयन हुने बताए।