महिला प्रहरी हवल्दार दश हजार घुस रकम सहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले एक महिला प्रहरी हवल्दारलाई दश हजार घुस रकम सहित पक्राउ गरेकाे छ।

इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी हुन्। सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।

पक्राउ परेका व्यक्ति छुटाइदिने प्रलोभनमा पारेर सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए।