संसद विघटनसम्बन्धी रिटमा आज सुनुवाइ

काठमाडौँ। संसद विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा आज निर्णय हुनेछ। प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन्।

प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा अर्का न्यायाधीश तोक्ने सर्वोच्च अदालतले जनाएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित उनले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ।

पुस १० गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  सर्वाेच्चको स्पष्टिकरणः कुनै न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका छैनन्

यस्तै अदालतले माग गरेको अदालतको सहयोगी अर्थात एमीकस क्युरीमा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ।

सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिस गरेको छ।