काठमाडौँ। तराईमा आउँदो शुक्रबारसम्म बिहानको समयमा बाक्लो हुस्सु लाग्ने छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वदेखि पश्चिम तराईका अधिकांश ठाउँमा बाक्लो हुस्सु लाग्ने छ। बिहान अबेरसम्म बाक्लो हुस्सु लागे पनि बेलुकीपख हटेर जाने छ।
सोमबार र मंगलबार तराईका विभिन्न ठाउँमा यस वर्षकै बाक्लो हुस्सु लागेको थियो। आज पनि बिहानैदेखि हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ।
बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई समस्या भएको छ। चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ।
सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान यस्तो बेला उचित हुन्छ। काठमाडौँमा पनि आज मौसममा बदली भएको छ।
काठमाडौँको अधिकतम तापक्रम घटेर मंगलबार १८ दशमलव ६ डिग्री सेल्सियस कायम भएको थियो। काठमाडौँमा बिहानपख कुहिरो र दिउँसो तुवाँलो लाग्ने सम्भावना छ।
तराईमा दिउँसोसम्म बाक्लो हुस्सु लाग्ने गरेका कारण कतिपय उडान रद्द तथा ढिलो हुने बताइएको छ। आज पहाडी भेगमा आंशिक बदली रहने तथा केही ठाउँमा हल्का पानी पर्ने सम्भावना विभागले जनाएको छ।