कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्यो सहयोग

काठमाडौं। सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि दातृ निकायसँग सहयोग माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै आर्थिक सहयोगका लागि दाताहरूसँग अपिल गरेको हो।

लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउनका लागि ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालाई खोप कोषमा सहयोग गर्न अपिल गरेको हो। ‘‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायकि एवं सामाजिक र परोपकारी संस्था एवं फिलान्थ्रोपिक एसोसिएसनलाई देहायको खातामा रकम जम्मा गरी खोप कोषमा योगदान गर्नका लागि नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’’ मन्त्रालयद्वारा जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मन्त्रालयले कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकम परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ। मन्त्रालयले विश्वमा परीक्षण भइरहेका कोरोनाविरुद्धका खोप व्यावसायिक रूपमा बजारमा आएपछि ल्याउने तयारी भइरहेको बताएको छ।