भारतीय च्यानल ‘जी न्यूज’ भन्छ, ‘भारतले सगरमाथामाथि आफ्नो दावा ठोक्नुपर्छ’

काठमाडौँ। भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’का सम्पादक सुधीर चौधरीले भारतले सगरमाथामाथि आफ्नो दावा ठोक्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएकै भोलिपल्ट चौधरीले सगरमाथामा भारतको भएको दाबी गर्न उक्साएका छन्। चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम ‘माउन्ट सिकदर’ राखिनुपर्ने समेत बताएका छन्।

जी न्यूजले शिखर सगरमाथाको भारतीय नाम माउन्ट सिकदर राख्न अभियान नै थालेको छ। मंगलबार राति जी न्यूजले सगरमाथामा भारतको भएको दाबी प्रस्तुत गर्नुपर्ने टिप्पणीसहितको सामग्री प्रशारण गरेको थियो।

चौधरीले काठमाडौँ आएर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्ता लिन चौधरी आइतबार काठमाडौँ आएका थिए।

अन्तर्वार्ता लिएपछि मंगलबार चौधरी हेलिकप्टर चार्टर गरेर सगरमाथाको अवलोकनका लागि गएका थिए। भारतीय नागरिकले सगरमाथाको अवलोकन गर्नुपर्ने तथा त्यसबाट राष्ट्रवादको अलग भाव आउने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–नेपाल समूहले माघ २८ गतेको प्रदर्शन हालसम्मकै विशाल बनाउने

उनले आफ्नो कार्यक्रम प्रशारण गर्दै भनेका छन्, ‘त्यहाँ उभिएर हामीले सगरमाथाको नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौँ।’

भारतीय गणितिज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनकै नाममा सगरमाथाको नामाकरण हुनुपर्ने चौधरीको दाबी छ।

‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजदेखि सुरू गर्छौँ। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो।

संसारलाई सगरमाथाको उचाइ पहिलोपटक बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ’ चौधरीले भने। उनले जी न्यूजको अभियानमा सोमेल हुन सबै दर्शकलाई आह्वान गरेका छन्।

राधानाथ सिकदरबाट खोसिएको अधिकार दिलाउन आफू सगरमाथा क्षेत्रमा पुगेको उनको भनाइ छ।