अमेरिकी उपराष्ट्रपति पेन्स भन्छन्, ‘राष्ट्रपति ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा छैन’

एजेन्सी। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आफु राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा नरहेको बतएका छन्।

तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएका बेला उपराष्ट्रपति पेन्सले आफू संविधानको २५औँ संशोधन सक्रिय पार्ने पक्षमा नरहेको बताए।

सभामुख न्यान्सी पेलोसीले पेन्ससँग २५औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पत्र पठाएकी थिइन्। त्यसको जवाफमा पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका हुन्।

तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि बुधबार मतदानको तयारी हुँदैछ। तल्लो सदनबाट महाअभियोग सम्बन्धी प्रस्ताव पारित भएमा ट्रम्प दोस्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बन्ने छन्।

गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकलाई उक्साएको तथा बिद्रोहको अवस्था निम्त्याएको ट्रम्पमाथि अभियोग लागेको छ।

अन्य सम्बन्धित समाचार:  इन्डोनेसियामा भूकम्पको असर: ८ सय जना घाइते, १५ हजार विस्थापित

अमेरिकी संविधानमा उपराष्ट्रपतिले बहुमत मन्त्रीहरुको साथमा राष्ट्रपतिलाई शक्तिहिन गर्न सक्ने व्यवस्था छ। संसद भवनमा गरिएको आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो।

अब ट्रम्पको कार्यकाल ८ दिन मात्र बाँकी छ। जनवरी २० तारिखमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ताको बागडोर सम्हाल्नेछन्।