अटो रिक्सा दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु, चार घाइते

काठमाडौं। अटो रिक्सा दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु भएको छ। अन्य चार जना गम्भीर घाइते भएका छन्। शिखर नगरपालिका– ८ तिलताली नजिक अटो दुर्घटना हुँदा सोही नगरपालिका निवासी ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो।

यसैगरी शिखर नगरपालिका–३ का १८ वर्षीय अर्जुन पार्की, अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार  बानेडुग्रीसैनबाट दिपायल जाँदै गरेको अटो मंगलबार राति दुर्घटनामा परेको हो।

घाइते चार जनामध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलालीतर्फ रेफर गरिएको छ भने दुई जनाको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  डोटीमा २ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ