परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणप्रति नागरिक अगुवाहरुको आपत्ति

काठमाडौं।  नागरिक अगुवाको एक समूहले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणप्रति आपत्ति जनाएको छ। १५ जना नागरिक अगुवाहरुले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन माघ १ देखि ३ गते सम्म हुने परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमण प्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘मुलुकलाई परेका अप्ठेरा फुकाउने कुनै अपरिहार्य राष्ट्रिय स्वार्थका कार्यसूची भएमात्र भ्रमण गर्न उपयुक्त हुने उनीहरूको भनाइ छ। भ्रमण गर्नै नहुने भन्ने हैन। शिष्टाचार र सद्भाव आदान प्रदान तथा सम्बन्ध नवीकरणका साथै मुलुकलाई परेका अप्ठेरा फुकाउने कुनै अपरिहार्य राष्ट्रिय स्वार्थका कार्यसूची छन् भने तिनलाई सम्बोधन गर्नका लागि भ्रमण गर्न सकिन्छ’, विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

मुलुकको राजनैतिक अवस्थामा बाह्यपक्षको हस्तक्षेप हुने भन्दै उनीहरूले राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुने जस्तो देखिएपनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने कुनै पनि दस्तावेजमा हस्ताक्षर नगर्न सचेत गराएका छन्।

‘मुलुकमा तरल राजनैतिक अवस्था रहँदा हाम्रो नेतृत्व अनेक प्रकारको चाप र दबाबमा रहने र हाम्रो आफ्नै कमजोरीबाट एकपक्षीय वा असमान लाभ उठाउन बाह्यपक्ष सक्रिय रहने गरेका प्रचुर दृष्टान्त हाम्रा सामु छन्।

‘यस पृष्ठभूमिमा, भ्रमणमा जानु नै पर्ने कूटनीतिक प्रतिबद्धताको अवस्था हो भने बृहत्तर राष्ट्रिय सहमति विना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुनेजस्तो देखिएपनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने वा गम्भीर दायित्व सृजना हुने गरी सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्ने जस्ता काम कारबाही नगर्नका लागि हामी हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दैछौँ’, विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?

कोभिड १९ विरूद्धको भ्याक्सिन प्राप्त गर्ने विषय तत्कालको प्राथमिकता हुनु पर्ने उनीहरूले बताएका छन्।