काठमाडौं। गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ काे सिजन–२ मा काेच रहेकी आस्था राउत सिजन–३ बाट बाहिरिएकी छिन्। अब उनकाे स्थानमा कोचकाे रुपमा तृष्णा गुरुङ देखापर्ने छिन्।
अन्य तीनजना कोचमा भने यसअघिकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा रहने बताइएकाे छ। “हामीले ७ जनाको नाम भ्वाइसको हेडक्वाटरमा सीभीसहित पठाएको थियौं, त्यसमध्ये तृष्णा गुरुङको नाम छनोट भएर आएको हो,” द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले भनेका छन्।
दोस्रो सिजनमा पनि द भ्वाइस अफ नेपालले कोच परिवर्तन गरेको थियो। पहिलो सिजनका कोच अभाया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो।
द भ्वाइस अफ नेपाल तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ।