चालू खाता फेरि घाटामा

काठमाडौं । चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक ४ महीनासम्म बचतमा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो ।

बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष २०७७/०७८ को मङ्सिर महीनामा चालू खाता २५ अर्ब ४१ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।

यसअघि विगतका ४ आवसम्म लगातार घाटामा रहेको चालू खाता गत साउनमा भने बचतमा देखिएको थियो । चालू आव २०७७र७८ को साउन महीनामा चालू खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

अन्य सम्बन्धित समाचार:  नेप्से परिसूचक १७.७९ अंकले घट्याे

चालू खाता घाटामा गए पनि शोधनान्तर भने निरन्तर बचतमा छ । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा मङ्सिरमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

मङ्सिरसम्ममा विप्रेषण १० दशमलव ९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । गतआवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्षको शुरूमा आयात कम भएको र अहिले आयातमा सुधार भएकाले चालू खाता घाटामा जानु स्वाभाविक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए । विप्रेषण आय बढे पनि आयात बढिरहेको र पर्यटन आय नभएका कारण चालू खाता घाटामा देखिएको उनको भनाइ छ ।