एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति गठन

काठमाडौं । आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले ३७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो ।

समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठसमेत रहेका छन् । निर्वाचन तयारी तथा समन्वय समितिको नेतृत्व पाएका पोखरेलले निर्वाचनका लागि शान्ति सुरक्षाको योजना, रणनीतिदेखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनदेखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम सुरु गरिएको जानकारी दिए ।

समितिले म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाकासमेत तयार गर्नेछ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको पुनरावलोकनको काम सकेपछि निर्णय हुनेछ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइँदै