काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षालाई सरल बनाउने तयारी गरेको छ । सरकारले लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षा लिँदा प्राविधिक ‘प्यारामिटर’ लाई निश्चित अंकभार दिएर पूर्णाङ्कमा ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने नयाँ निर्देशिका ल्याउन लागेको छ।
लिखितमा पास भएर ट्रायलमा फेल भइरहेका करिब ६० प्रतिशत परीक्षार्थी चोर बाटोका बिचौलियाको चंगुलमा परिरहेकाले नयाँ ब्यवस्था गर्न लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातयात व्यवस्था विभागले जनाएको छ ।
परीक्षालाई व्यवहारिक बनाउने भन्दै सरकारले ट्रायल सहज बनाउने तयारी गरेपनि यसको सम्भावना र परिणामका विषयमा बहस हुन थालेको छ । विज्ञहरुले लाइसेन्स लिनेको संख्या, लाइसेन्स वितरण कार्यालयमा घुसखोरी र सडक दुर्घटना बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।