काठमाडौं । भारतको टेलिभिजन च्यानल जी न्यूजले माउन्ट एभरेस्ट नेपालकै भएको र नेपालबाट कसैले छिन्न नसक्ने बताएको छ ।
सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै रिपोर्ट प्रशारण गर्ने च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठेस र्पुयाउनु आफ्नो आशय नरहेको स्पष्ट पारेका छन् ।
बुधबार रातीको टेलिभिजन कार्यक्रम डीएनएमा होस्ट चौधरीले आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिकबीचको सम्बन्धमा असर नर्पुयाउने समेत उनले बताएका हुन् ।
‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन’ उनले भने, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’
बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिँदै उनले भनेका छन् ‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं –भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ ।’
‘माउन्ट एभरेस्टको लोकेसनलाई कसैले बदल्न सक्दैन । माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । हामीलाई नेपालका आफ्ना दर्शकलाई निराश तुल्याउनु छैन । तपाइहरुलाई निराश तुल्याउने उद्देश्य पनि छैन ।’
आइतबार सगरमाथा आधार शिविरमै हेलिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रिपोर्टिङ गर्दै सगरमाथामा भारतले दाबी ठोक्नुपर्छ भनेका थिए । त्यसअघि उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको करिब १ घण्टा लामो अन्तर्वार्ता लिए ।