परराष्ट्रमन्त्री ज्ञवालीले दिल्लीमा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौं । तीन दिनको भारत भ्रमणमा आज भारतको राजधानी नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

नेपाल–भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन जान लागेका उनले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

भारत सरकारसँग निकट रहेको ‘थिंक ट्याङ्क इण्डियन काउन्सिल अफ वल्ड अफेयर्स’ले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो।

कोरोना महामारीका कारण थोरै व्यक्तिलाई मात्र सो कार्यक्रममा आमन्त्रण गरिएको बताइएको छ। भारत भ्रमणका अवसरमा मन्त्री ज्ञवालीले नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायत विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन्।

लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा भ्रमण हुन नसकेको अवस्थामा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि दुवै देशबीच तिक्तता उत्पन्न भएको छ। 

अन्य सम्बन्धित समाचार:  चुनाव वैशाख १७ र २७ गते नै हुन्छः प्रधानमन्त्री ओली