चीनमा ८ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु

चीनमा कोरोना भाइरसको संक्रमण बाट ८ महिनापछि थप एक जनाको मृत्यु भएको छ । चीनमा ८ महिनायता कोरोना भाइरसको संक्रमण बाट  मृत्यु भएको यो पहिलो पटक हो । सन् २०१९ को डिसेम्बरमा हुवेई प्रान्तको राजधानी बुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सबै भन्दा पहिले चिनमा महामारीको रुपमा फैलिएको कोराेना भाइरस पछिल्लो समयमा आएर नियन्त्रण भएको थियो ।

यसैबीच पछिल्लो मृत्यु हेबेई प्रान्तमा भएको बताइए पनि यसको पूर्ण जानकारी भने नखुलाइएको समाचार संस्था एएफपीले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना संक्रमण देखिन थालेपछि हेबेईका केही सहरमा पूर्ण लकडाउन गरिएको छ भने ती सहरका सबै नागरिकको परीक्षण भइरहेको छ । गत हप्ता चीनले हेबई प्रान्तको राजधानी सिजियाचुवाङमा लकडाउन गर्दै करिब १ करोड ३ लाख नागरिकको परीक्षण सुरु गरेको थियो ।

साथै गत शुक्रबारदेखि ७० लाख जनसंख्या रहेको चिङ्ताई सहर र ५० लाख जनसंख्या रहेको लाङफाङ सहरमा पनि लकडाउन गरिएको छ । सिजियाचुवाङ लाई पछिल्लो लहरको इपिसेन्टर मानिएको छ ।

बुधबार मात्रै संक्रमण फैलिने खतरा रहेको जनाउदै हेइलोङजियाङ प्रान्तले आपतकालीन अवस्था घोषणा गरेको छ । करिब ३ करोड ७० लाख जनसंख्या रहेको उक्त प्रान्तका नागरिकलाई अत्यावश्यक कामबाहेक प्रान्त नछोड्न निर्देशन दिइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो गत वर्षको मार्च महिनायताकै धेरै संख्या हो । यसैबिच कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको विज्ञहरुको टोली बिहीबार चीन पुग्दैछ । पिटर बेन इम्बारेक नेतृत्वमा रहेको १० जनाको टोली बिहीबार वुहान पुग्नेछ ।

अन्य सम्बन्धित समाचार:  चीनको एक सुनखानीभित्र फसेका ११ जनाको सकुशल उद्धार